११ जेष्ठ २०७६, शनिबार

आम्दानीको स्रोत बन्दै महिलाका सहकारी

विमलबहादुर विष्ट, डोटी, २९ चैत । महिलाले नेतृत्व गरेका सहकारी संस्था पछिल्लो समय आम्दानीको स्रोत बन्दै गएका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय रोजगारसमेत हुन थालेका छन् । महिलाका सहकारी पछिल्लो समय नाफामुखीसमेत बन्दै गएका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएका छन् ।

विसं २०६९ मङ्सिर १० गते २९ महिलाले रु १०० को शेयर सङ्कलन गरेर साविकको डौड गाविस (हाल सायल गाउँपालिका) मा लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गर्नुभयो । हाल उक्त सरकारी संस्थामा गाउँपालिकाका मात्रै ६०० महिला आबद्ध छन् । महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले रु ८० लाख पूँजी निर्माण गरेको सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताउनुभयो । “हामीले सहकारी शुरु गर्दा खासै कसैले पत्याएनन्, पुरुष दाजुभाइले नेतृत्व गरेका सहकारी अहिले कोही झोलामा छन्”, उहाँले भन्नुभयो, “हामी त नाफामुखी हुँदैछौँ, महिलाले अवसर पाएमा राम्रो काम गर्छन् भन्ने देखाउन सफल भयौँ ।”

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा पनि महिला मात्रै आबद्ध रहेको लक्ष्मी महिला बहुउद्देश्यीय सरकारी संस्थामा ६३७ महिला शेयर सदस्य आबद्ध छन् । उक्त सहकारी संस्थाले छोटो समयमा नै आफ्ना दुई सुविधासम्पन्न भवन निर्माण गरेको अध्यक्ष टङ्का कडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “छोटो समयमा नै हामी आफ्नै भवन बनाउन सफल भएका छौँ, सहकारीबाट नै हाम्रा गाउँका महिलाको आयआर्जनमा समेत वृद्धि भएको छ ।”

जोरायल गाउँपालिकामा रहेको नमूना सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । उक्त सहकारीको कूल पूँजी रु एक करोड पुगेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी खुलेपछि यहाँका महिलाले सानोतिनो कामका लागि अरुलाई हात थाप्नुपरेको छैन, बचत गर्ने बानीको विकास भएको छ ।” जिल्लामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिलाले सहकारी खोलेपछि धेरै महिलाको क्षमताको विकास हुनुका साथै आत्मनिर्भरसमेत भएका छन्, यो राम्रो पक्ष हो ।” ‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण यहाँका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकास मञ्च नेपाल डोटीका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीको मान्यता भनेकै आर्थिक अवस्था समान भएका व्यक्तिले पूँजी केन्द्रित गरेर सामूहिक ताकतमार्फत काम गर्ने हो ।” नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता भएको पाइएको छ ।

सहकारी डिभिजन कार्यालयको विघटनसँगै सहकारीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा कर्मचारीको अभाव छ, त्यसमाथि सहकारीसम्बन्धी विज्ञ कर्मचारी नहुँदा व्यवस्थित बनाउन र अनुगमन गर्न गाह्रो भएको छ ।”

व्यक्तिगत घटना दर्ता गराउँदै महिला

पछिल्लो समय जिल्लाका महिला आफनो व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । जुनीजुनीसँगै बाँच्ने वाचा गरेर विवाह बन्धनमा बाँधिएका यहाँका महिला पछिल्लो समय आफ्नै श्रीमान्बाट विभिन्न खाले धोका तथा पीडा पाउन थालेपछि व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । व्यक्तिगत घटना दर्ता गराउन श्रीमान्भन्दा पनि श्रीमती बढी सचेत हुने गरेको स्थानीय तहको व्यक्तिगत घटना सूचकको विवरणबाट खुलेको हो । श्रीमतीको विवाह दर्ता नगरिदिने र नागरिकता नबनाइदिने गर्दा यहाँका ग्रामीण क्षेत्रका कतिपय महिलाले सम्पत्तिको अधिकारबाट समेत वञ्चित हुनुपरेको अवस्थामा विवाह दर्तामा महिलाको अगुवाइ बाध्यताजस्तै बन्न थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह दर्तालगायतका अन्य कागजात नहुँदा महिलालाई समस्या परेकाले बाध्यतावश महिला अग्रसर हुने गरेका हुन् ।”

श्रीमान्बाट हुने यस्ता घटनाबाट सचेत बन्दै डोटेली महिला हिजोआज आफ्नो अधिकार लिन आफैँ अग्रसर हुन थालेको जिल्लास्थित अल्पकालीन सेवा सङ्घ डोटीका प्रमुख देवकी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान् नहुँदाको बेला र आफ्नो पहिचान र अधिकारका लागि भए पनि महिला नागरिकता लिन थालेका छन् यो आफैँमा राम्रो पक्ष हो ।” नागरिकता नहँुदा महिलाले भोग्नुपरेको समस्याका खबर जतातै सुनिन थालेपछि यहाँका ग्रामीण क्षेत्रका महिला आफ्ना श्रीमान्लाई लिएर जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन तथा सम्बन्धित गाउँपालिका र नगरपालिकामा विवाह दर्ताका लागि दिनहुँ धाउन थालेको दिपायल कुल्पातेकी स्थानीयवासी पवित्रा अग्रवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “श्रीमान्सँगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि भए पनि महिलाले विवाह भएलगत्तै विवाह दर्ता र नागरिकता बनाउनु जरुरी भएको छ ।” दिपायल सिलगढी, शिखर नगरपालिकादेखि यहाँका ग्रामीण क्षेत्रका गाउँपालिकामा विवाह दर्ताका लागि श्रीमान्श्रीमती दुवै आउने गरेका छन् । त्यसमा श्रीमतीकै अगुवाइ बढी हुने गरेको सम्बन्धित कार्यालयका कर्मचारी बताउँछन् । दिपायल सिलगढी नगरपालिकामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको सङ्ख्या २५० थियो ।

चालू आर्थिक वर्ष फागुन मसान्तसम्ममा विवाह दर्ता गर्नेको सङ्ख्या करीब एक हजार पुगेको छ । कार्यालयका पञ्जीकरण शाखा प्रमुख बुद्धिसिंह खड्काका अनुसार विवाह दर्ता गर्न आउनेको सङ्ख्या बढिरहेको छ । विवाह दर्ताका लागि नागरिकता अनिवार्य चाहिने भएकाले पनि नागरिकताको सिफारिस लिन आउनेको चाप बढेको उहाँले बताउनुभयो । महिला कार्यालयमा विवाह दर्ता गर्नका लागि सोधपुछ गर्न आउने र पछि श्रीमान्लाई सँगै लिएर आउने गरेको उहाँको भनाइ छ । नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिला सचेत बन्दै गएको सो कार्यालयका कार्यकारी अधिकृत भोजराज शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षभन्दा अहिले यहाँका महिला निकै सचेत तथा आफ्ना कामका लागि अग्रसर हुने गरेको हामीले पाएका छौँ ।” (रासस)

प्रतिकृया दिनुहोस