२३ मंसिर २०७६, सोमबार

कृषि सामग्रीमा अनुदान

बागलुङ, २७ चैत । गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर (टनेल), मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो ।

नगरभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई प्लाष्टिक घर (टनेल) प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १ मा ३८, २ मा २२, ३ मा ३५, ४ मा १०, ५ मा २२, ६ मा १५, ७ मा ३३, ८ मा १७, ९ मा ९, १० मा १५ र ११ मा २५ किसानले प्लाष्टिक घर (टनेल) पाएका छन् ।

कूल रु चार हजार ८०० मूल्यको ‘टनेल’ किसानलाई रु दुई हजार ४०० मा उपलब्ध गराइएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । वडाबाट आएका माग र सिफारिशका आधारमा किसानलाई अनुदान दिइएको हो ।

अन्नबालीको बीउ राख्न चाहिने भकारीमा ४७ किसानले अनुदान पाएका छन् । वडा नं १, ५ र ६ मा पाँच–पाँच, वडा नं २, ३, ४, ७, ८, ९, १० र ११ का चार–चार किसानले भकारीमा अनुदान पाएका हुन् । रु १३ हजार मूल्य पर्ने भकारी किसानले रु छ हजार ५०० मा पाएका छन् । यस्तै नगरभित्रका १२५ किसानले मौरीघारमा अनुदान पाएका छन् । रु तीन ४५० पर्ने घार किसानलाई रु एक ७२५ मा उपलब्ध गराइएको हो ।

नगरपालिकाको कृषि तथा पशु सेवा शाखाका अनुसार झण्डै रु २० लाखको कृषि सामग्री ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको हो ।

“कृषिको व्यावसायिकरणमा हाम्रो जोड छ” नगरप्रमुख गैरेले भन्नुभयो, “कृषि र पशुपालनमा लगानी र अनुदान अझ बढ्छ ।” कृषिको अनुदान दुरुपयोग हुने र प्रतिफल नआउने प्रवृत्ति रोक्न अनुगमनलाई प्रभावकारी बनाइने भएको छ । (रासस)

प्रतिकृया दिनुहोस