३ असार २०७६, मंगलवार

दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री

भद्रपुर, २३ माघ । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताए । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ । पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभएको उनले वताए । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो । पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए । महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनले वताए । उनका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । रासस

प्रतिकृया दिनुहोस