५ आश्विन २०७६, आईतवार

माक्र्सवादको विकासमा माओको अमर योगदान

 

हेमन्तप्रकाश ओली ‘सुदर्शन’
‘माओ हाम्रो जमानाका महानतम् क्रान्तिकारी र महानतम् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । उहाँले पचास वर्षभन्दा बढी चिरस्मरणीय सङ्घर्षहरूमा चिनियाँ जनताको नेतृत्व गर्नुभयो र हरेक देशका श्रमजीवी एवम् उत्पीडित जनतालाई उत्प्रेरणा तथा उज्यालो प्रदान गर्नुभयो । उहाँको मार्गनिर्देशनमा नै साम्राज्यवादको नियन्त्रणमा पिछडिएको चीन साम्राज्यवाद र प्रतिक्रियावादका विरुद्ध लड्ने अन्तर्राष्ट्रिय सर्वहारावर्गको सबैभन्दा उन्नत धरोहर, विश्वक्रान्तिको दीप र किल्लामा रूपान्तरण भएको छ । विश्वव्यापी क्रान्तिकारी आन्दोलनमा, अन्तर्राष्ट्रिय श्रमजीवी वर्गको क्रान्तिकारी विज्ञान माक्र्सवाद–लेनिनवादमा र यसका सम्पूर्ण वर्गविभेदहरू उन्मूलन गर्ने र साम्यवादी युगलाई स्वागत गर्ने ऐतिहासिक कार्यभारमा माओ त्सेतुङका योगदानहरू अमर छन् ।’
बब अभाकियन, माओ त्सेतुङका अमर योगदानहरू , पृ. १, १९७९, भारतमा राहुल फाउन्डेसनद्वारा अङ्ग्रेजीमै पुनमुद्र्रण ।
हामी २६ डिसेम्बरमा विश्व–सर्वहारा वर्गका महान् नेता तथा माक्र्सवादलाई वर्गसङ्घर्ष र अन्तरपार्टी सङ्घर्षमा विजयी हुँदै नयाँ, उच्च र तेस्रो चरणमा विकास गर्ने प्राधिकार अध्यक्ष माओलाई पुनःस्मरण गर्दैछौँ । १२६ औँ माओ दिवसका अवसरमा हामी उहाँका योगदानहरूबारे व्याख्या गर्दैछौँ । नेपाली र विश्वका श्रमजीवी तथा उत्पीडित जनतालाई साक्षी राखेर नेपालमा हामी एकीकृत जनक्रान्ति पूरा गर्ने र वैज्ञानिक समाजवाद लागू गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । यहाँ हामी विशेष रूपले माओका अमर योगदानको चर्चा गर्नेछौँ ।
१ दर्शनशास्त्रमा माओको योगदान
प्रथमतः माओले दर्शनलाई ज्ञान सिद्धान्तका रूपमा परिभाषित गर्नुभएको छ । उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट नै ज्ञान सिद्धान्तको विकास हुन्छ । ज्ञानका दुई छलाङ हुन्छन् ः इन्द्रियग्राह्य ज्ञान र बुद्धिसङ्गत ज्ञान । यहाँ उल्लिखित ज्ञानका तीन स्रोतबाट मानवमस्तिष्कमा जुन वस्तुगत जगत् प्रतिबिम्ब हुन्छ त्यसलाई पाँच इन्द्रियको सूचनाबाट आउने भएकाले इन्द्रियग्राह्य ज्ञान भनिन्छ । दिमागमा प्रतिबिम्बित वस्तुहरूका विषयमा प्रश्नहरू जन्मन्छन् । मानौँ हामीले सिस्नु भन्ने वनस्पतिले पोल्छ भन्ने कुरा स्पर्शद्वारा ज्ञान ग¥यौँ । यो इन्द्रिग्राह्य ज्ञान हो । सिस्नुले किन पोल्छ भन्ने प्रश्नको जबाफ पटकपटकको प्रयोगद्वारा दियौँ भने त्यो बुद्धिसङ्गत ज्ञान हो । जस्तो कि सिस्नुले पोल्नुको कारण वैज्ञानिकहरूले मिट्ठाइन क्याप्सिन नामकतत्व हो भन्ने कुरा पत्ता लगाए । व्यवहार–ज्ञान–व्यवहार यही नै ज्ञान प्रक्रिया हो ।
द्वितीयतः माओले भौतिकवादी द्वन्द्ववादको विकास गर्नुभएको छ । लेनिनले ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ नामक कृतिमा द्वन्द्वात्मक भौतिवाद विकास गर्नुभयो । उहाँले १९१४–१९१६ भित्र तयार पारेको दार्शनिक नोटबुकमा भौतिकवादी द्वन्द्ववादको विकास गर्ने योजनाअनुरूप बृहत् तयारी गर्नुभएको थियो । अक्टोबर क्रान्तिको तयारी, त्यसको विजय र त्यसको विकासको आवश्यकताले यो महान् कर्यभार पूरा हुन पाएन । सन् १९१४ मा लेनिनले द्वन्द्ववादका १६ तत्वहरूबारे नोट गर्नुभयो,‘कसैले सायद यी तत्वहरूलाई अति विस्तारपूर्वक यसरी प्रस्तुत गर्न सक्नेछ ः
१) वस्तुनिष्ठ अवलोकन (उदाहरण होइन, विषयान्तर होइन, बरु जस्ताको तस्तै वस्तु)
२) हरेक वस्तुको अर्को वस्तुसँग बहुआयामिक सम्बन्धमाथि सम्पूर्णतामा
३) वस्तुको विकास (परिघटना, क्रमशः यसको आफ्नो गति, यसको आफ्नो जीवन)
४) वस्तुभित्र आन्तरिक रूपले अन्तरविरोधी प्रवृत्ति (र ………..आयाम)
५)सार र विपरीतहरूको एकताका रूपमा वस्तु(परिघटना, विषय आदि)
६) विपरीतहरूको सङ्घर्ष (क्रमशः उद्घाटन, अन्तरविरोधी सङ्घर्ष आदि)
७) विश्लेषण र संश्लेषणको एकता– पृथक् भागहरू र समग्रतालाई टुक्र्याउनु यी भागहरूको योग
८) प्रत्येक वस्तु (परिघटना, प्रक्रिया आदि) को सम्बन्ध बहुआयामिक होइन, बरु सामान्य, सर्वाभौम हुन्छ । प्रत्येक वस्तु (परिघटना, प्रक्रिया आदि) प्रत्येक अन्यसँग जोडिएको हुन्छ ।
९) विपरीतहरूको एकता मात्र होइन, बरु हरेक सङ्कल्पको गुण, विशेषता, पक्ष, गुण धर्म प्रत्येक अर्कोमा सङ्क्रमण, यसको विपरीत ?
१०) नयाँ पक्षहरू, सम्बन्ध आदिको खोजीमा अनन्त प्रक्रिया
११) वस्तु, परिघटना, प्रक्रिया आदिको रूपदेखि सारसम्म, कम गहन सारबाट अधिक गहन सारसम्म मानव ज्ञान गहिरिँदै जाने अनन्त प्रक्रिया
१२) सहअस्तित्वको कारकतासम्म, सम्बन्ध र अर्कोसँग पारस्परिक निर्भरतादेखि अझ बढी गहनतर, अझ बढी सामान्य रूपसम्म
१३) तल्लो चरणका कतिपय लक्षण, विशेषता आदि माथिल्लो चरणमा पुनरावृत्ति
१४) पुरानोतिर स्पष्टतः फर्कनु (निषेधको निषेध)
१५) सारको रूपसँग सङ्घर्ष र यसको विपरीत रूप हटाउनु, सारको रूपान्तरण र
१६) मात्राको गुणमा सङ्क्रमण र यसका विपरीत (१५ र १६ बुँदाका) उदाहरण हुन् ।’
यी बुँदाको सारसङ्क्षेपमा उहाँले लेख्नुभएको छ, ‘सङ्क्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरूको एकताको सिद्धान्तका रूपमा परिभाषित गर्न सकिन्छ । यसैमा द्वन्द्ववादको सार समावेश छ तर यसले व्याख्या र विकासको माग गर्दछ ।’
(लेनिन, दार्शनिक रचनाहरू ः माक्र्सदेखि माओसम्म–अनुवादक सुदर्शन, पृ. ६८–६९) ।
नोटको सुरुमा लेनिनले भन्नुभएको छ, ‘कसैले सायद यी तत्वहरूलाई अति विस्तारपुर्वक प्रस्तुत गर्न सक्नेछ ।यी १६ तत्वका आधारमा लेनिन वा अरू कसैले पनि विस्तारपूर्वक द्वन्द्ववादको व्याख्या गर्न सक्नेछ । द्वन्द्ववादको सारविपरीतहरूको एकता भए पनि यसले व्याख्या र विकासको माग गर्दछ’ भनी उहाँले जोड लगाउनुभएको छ । यो अधुरो कार्यभार बुझ्ने र त्यसलाई पूरा गर्न प्रतिबद्ध हुने दार्शनिक माओ नै हुनुहन्थ्यो । चीनमा माओले सबभन्दा बढी भौतिकवादी यान्त्रिकता र आदर्शवादी अधिभूतवादका विरुद्ध लडनुपरेको थियो । त्यही आवश्यकता र लेनिनले दिएको जिम्मेवारी पूरा गर्न माओ भौतिकवादी द्वन्द्ववादको व्याख्या र विकासका लागि अध्ययनअनुसन्धानमा मात्र होइन, बरु वर्गसङ्घर्ष र अन्तरपार्टी सङ्घर्षमा डटेर लाग्नुभयो । ‘वर्गसङ्घर्षबिना दर्शनशास्त्रको कुरा गर्नु भनेको समय खेर फाल्नु हो’ भन्ने माओको जीवनदर्शन थियो । उहाँ जहिले पनि किताबी दर्शन र जीवन दर्शनका बीच एकता कायम गर्ने दार्शनिक हुनुहुन्थ्यो । वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षका प्रक्रियामा उहाँले व्यवहारबारे (१९३७), अन्तरविरोधबारे (१९३७), द्वन्द्वात्मक भौतिकवाद (१९३८), जनताबीचका अन्तरविरोधहरूको सही सञ्चालनबारे (१९५७), द्वन्द्ववादका उदाहरणहरू (१९५९), सही विचार कहाँबाट आउँछ ? (१९६३), दर्शनशास्त्रका समस्याबारे कुराकानी (१९६४) जस्ता महत्वपूर्ण कृतिहरूको रचना गर्नुभयो । यी कृतिहरू लेनिनको १६ बुँदाका विस्तृत व्याख्या र विकासका परिणाम हुन् ।
भौतिकवादी द्वन्द्ववादको विकास गर्ने प्रक्रियामा उहाँले नै तीन नियमहरूलाई एउटै नियम अन्तरविरोधमा संश्लेषण गर्नुभएको छ । ‘दर्शनशास्त्रका समस्याहरूबारे कुराकानी’ मा माओले भन्नुभएको छ, ‘एङ्गेल्सले तीन नियमको कुरा गर्नुभएको छतर म तीमध्ये दुईवटा नियम मान्दिनँ । विपरीतहरूको एकता नै सबभन्दा आधारभूत नियम हो । गुण र मात्राको एकअर्कामा रूपान्तरण त मात्रा र गुणजस्ता विपरीतहरूको एकता नै हो, निषेधको निषेध त कतै पनि अस्तित्वमा छैन । मात्रा र गुणको एकअर्कामा रूपान्तरण, निषेधको निषेध र विपरीतहरूको एकताको नियमलाई आमनेसामने समान तहमा राखियो भने अद्वैतवाद होइन, ‘त्रैतवाद’ हुन्छ…निषेधको निषेध भन्ने कुरा त हुनै सक्दैन । सकार–नकार–सकार… वस्तुको विकास प्रक्रियामा, हरेक घटना यही शृङ्खलाबाट अघि बढ्छन्…।’
– माओ, दर्शनशास्त्रका समस्याबारे कुराकानी, अङ्ग्रेजी, ग्रन्थ ९, पृ.१३७, लेखन समय १९६४, श्रमिक वर्ग प्रकाशन हैदराबाद, भारत ।
यहाँ माओले माक्र्सवादी दर्शनशास्त्रका प्राधिकार एङ्गेल्सको आलोचना गर्दै तीन नियमको जडतामा क्रमभङ्ग गर्नुभएको छ । माक्र्स स्वयम्ले के भन्नुभएको थियो भने द्वन्द्ववादले कुनै पनि चीजलाई आफूमाथि हाबी हुन दिँदैन किनभने यो आलोचनात्मक र क्रान्तिकारी छ । यही दृष्टिकोणको प्रयोग गरेर उहाँले तथ्यका आधारमा र जीवनको भोगाइका आधारमा सत्य कुरा पत्ता लगाउनुभयो । लेनिनले संश्लेषण गर्नुभएको तर व्याख्या र विकास गर्न बाँकी रहेको विपरीतहरूको एकतालाई ‘अन्तरविरोधबारे’ नामक प्रसिद्ध रचनामा माओले विशद् व्याख्या र विकास गर्नुभयो । आफ्नो समयमा विकास भएको परिस्थितिको अध्ययनअनुरूप जति गहिराइ र उचाइमा उहाँ पुग्नुभयो त्यति नै गहिराइ र उचाइमा द्वन्द्ववादको विकास गर्नुभयो । निषेधको निषेध भन्ने नियम त हुनै सक्तैन भनी जोडदार रूपमा खण्डन गर्ने आँट गर्नुभयो । यही प्रक्रियामा नै उहाँले द्वन्द्ववादी स्टालिनको रक्षा गर्दै आंशिक रूपले अधिभूतवादी स्टालिनको विरोध गर्नुभयो । उहाँले इतिहासको आलोचनात्मक अध्ययनबाट वर्तमान क्रान्तिको बाटो स्पष्ट र उज्यालो पार्नुभयो । यही कारणले गर्दा चीनमा क्रान्ति सम्पन्न भयो । विश्वक्रान्तिको लहर अघि बढ्यो ।
अन्ततः लेनिनको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास र माओको भौतिकवादी द्वन्द्ववादको विकासले माक्र्सवाद सापेक्षतामा परिपूर्ण बन्यो । यसले गर्दा सर्वहारा वर्ग एवम् उत्पीडित वर्गको बौद्धिक हतियारले विजय हासिल गर्दै गएको हो ।
तृतीयतः माओले ‘दुई एकमा समायोजन हुन्छन्’ भन्ने ल्यु साओ–चीको दर्शनमा खण्डन गर्दै ‘एक दुईमा विभाजन हुन्छ’ भन्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन लागू गर्नुभएको छ । ल्यु साओ–चीवर्गसमन्वय गरेर पुँजीवादको पुनस्र्थापना गर्न चाहन्थे । माओ समाजवादमा पनि वर्गसङ्घर्ष जारी रहन्छ भन्ने कुरा स्पष्ट पार्न चाहनुहुन्थ्यो । पार्टी, पार्टीभित्र रहेका व्यक्ति, समाज र पदार्थको सूक्ष्म कणदेखि ब्रह्माण्डसम्म हरचीज दुईमा विभाजन हुन्छन् किनभने हरेक वस्तु विपरीतहरूको एकत्व हो । समाजमा साम्यवाद आएपछि पनि एक दुईमा विभाजन हुन्छ । स्वयम् मानव जाति पनि जीवन र मृत्युको विपरीत प्रक्रियाबाट अघि बढ्छ । यो प्रक्रियामा उहाँले विश्लेषण र संश्लेषणको द्वन्द्ववाद विकास गर्नुभएको छ । विश्लेषण गर्दै जाँदा संश्लेषण हुन्छ र संश्लेषण गर्दै जाँदा विश्लेषण हुन्छ । हरवस्तु विश्लेषणयोग्य हुन्छ भन्ने कुरा एक दुईमा विभाजनको पुष्टि हो ।
चतुर्थतः माओले युद्ध दर्शनको व्यवस्थित विकास गर्नुभएको छ । दीर्घकालीन युद्धको कार्यदिशामा उहाँले भन्नुभएको छ, ‘राजनीति रक्तपातहीन युद्ध हो र युद्धचाहिँ रक्तपातयुक्त राजनीति हो ।’ राजनीति र युद्धको द्वन्द्वात्मक सम्बन्ध उहाँले स्पष्ट पार्नुभएको छ । ‘युद्ध र रणनीतिका समस्याहरू’ शीर्षकको सैन्य कृतिमा उहाँले भन्नुभएको छ, ‘बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउन जरुरी छ ।’ यही नै माओको युद्धदर्शन हो । यसमा धेरै व्याख्या आवश्यक छैन ।
पञ्चमतः माओले सबभन्दा महत्वपूर्ण र शक्तिशाली दर्शन निरन्तर क्रान्तिको दर्शन दिनुभएको छ । माओले आफ्नो जीवनमा तीनवटा क्रान्ति गर्नुभयो । समाजवादी क्रान्तिमा पुग्न सबभन्दा पहिले २५ वर्ष लडेर नयाँ जनवादी क्रान्ति गर्नुभयो । जब समाजवाद लागू गर्न अघि बढ्दै हुनुहुन्थ्यो त्यतिबेला ल्यु सा–ओची र तङ साओ–फेङले अझै पुँजीवादको विकास नगरी समाजवादमा पुग्न सकिन्न भन्दै बाटो छेक्ने दुस्साहस गरे । परिणामस्वरूप १९५७ मा फेरि समाजवादमा फड्को हान्ने स्थिति बन्यो । यो दोस्रो क्रान्ति थियो । तेस्रो, माओकै शब्दमा ‘दाह्रा–नङ्ग्रा देखाएर आउने बाघभन्दा दस गुणा डरलाग्दा बाघ, साधारण ब्वाँसोभन्दा भेडाको छाला ओढेका दस गुणा पापी ब्वाँसो, साधारण गोलीभन्दा चिनीले बेरिएका दस गुणा विध्वंसक् गोली’ का विरुद्ध समाजवादमा लड्नुपर्ने भयो । त्यसका विरुद्धको लडाइँ सांस्कृतिक क्रान्ति थियो । १९६६ देखि आफ्नो मृत्युसम्म उहाँले महान् सर्वहारा सांस्कृतिक क्रान्ति अर्थात् सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति लड्नुभयो । सांस्कृतिक क्रान्तिको उद्देश्य भनेको उहाँले भन्नुभएको छ, ‘सांस्कृतिक क्रान्तिको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु हो । यो त संशोधनवादका जरा उखेल्ने प्र्रश्न हो ।’
राजनीतिक क्रान्तिमा वर्गदुस्मन त सत्ताच्यूत भयो तर स्वयम् क्रान्तिकर्तामै रहेको पुरानो विचारधारा, विरासत, आनीबानी, रीतिरिबाजको आदत सत्ताच्यूत हुन सकेन । माक्र्सले भन्नुभएअनुसार ‘वर्गविभेदको अन्त्य गर्न वर्गविभेद आधारित हुने सम्पूर्ण उत्पादन सम्बन्धहरूलाई अन्त्य गर्न, उक्त उत्पादन सम्बन्धअनुरूप रहेका सम्पूर्ण सामाजिक सम्बन्धलाई अन्त्य गर्न र यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारलाई क्रान्तिकारीकरण गर्न’ समाजवादमा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको आवश्यकता हुन्छ । जसरी लेनिनले वर्गसङ्घर्षलाई मात्र मानेर कोही पनि कम्युनिस्ट हुन सक्तैन, बरु जसले वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्वसम्म विस्तार गर्दछ त्यही नै कम्युनिस्ट हुनसक्छ भनेर माक्र्सवादी र संशोधनवादीका बीच रेखा खिच्नुभएको थियो त्यसरी नै आज जसले सर्वहारा अधिनायकत्व मात्र मानेर कोही पनि कम्युनिस्ट हुन सक्दैन, बरु जसले सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिलाई स्वीकार गर्दछ त्यही नै कम्युनिस्ट हुन सक्छ । यो सांस्कृतिक क्रान्तिको उद्देश्य अर्थात् यो निरन्तर क्रान्तिको कार्यभार भनेको विश्वदृष्टिकोण (दर्शनशास्त्र) को समस्या समाधान गरी संशोधनवादका जरा उखेल्नु हो । यो क्रान्तिको प्रथम निशाना भनेको आफैँ हुनु हो अथवा हरेक कम्युनिस्टले आफ्नो खराब विचारधारा, विरासत, चालचलन र आनीबानीका विरुद्ध निरन्तर लड्नु नै सांस्कृतिक क्रान्ति हो । आदतको सत्ता निकै बलवान् हुन्छ । त्यसकारण उहाँले जीवनको उत्तराद्र्धमा यो क्रान्ति सुरु गर्नुभएको थियो । आज हामीले उहाँको जन्मदिवसका अवसरमा आदतको सत्ताका विरुद्ध निरन्तर क्रान्ति गर्दै विश्वदृष्टिकोणको समस्या समाधान गर्ने माओको अधुरो कार्य पूरा गर्ने प्रतिबद्धता गर्न जरुरी छ । महासचिव कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई जनताले भर्खरै सोधिरहेका छन्, ‘तिमीहरू पनि प्रचण्ड र बाबुराम हुँदैनौ भन्ने के ग्यारेन्टी छ ?’ यसको ग्यारेन्टी (सुनिश्चितता) सांस्कृतिक क्रान्ति नै हो । राजनीतिक र सांस्कृतिक क्रान्तको एकीकृत बलबाट मात्र यसको ग्यारेन्टी गर्न सकिन्छ । तर यसको पनि सही व्याख्या र विकासको आवश्यकता छ ।
२) राजनीतिक अर्थशास्त्रमा माओको योगदान
पहिलो कुरा त माओले चिनियाँ राजनीतिक अर्थशास्त्रको अध्ययनबाट वर्गविश्लेषण गर्नुभयो र रुसमा लेनिनले क्रान्तिका शत्रु र मित्रको पहिचान गर्दा जुन तरिका अपनाउनुभएको थियो भिन्न देशमा उहाँले पनि यो तरिका अपनाउनुभएको थियो । त्यसआधारमा उहाँले आफ्नो देशलाई अफिम युद्धदेखि नै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भएको निष्कर्ष निकाल्नुभयो । क्रान्तिका शत्रुका रूपमा जमिनदार तथा दलाल वर्गलाई लिनुभयो भने मध्यमवर्ग तथा राष्ट्रिय पुँजीपति, निम्नपुँजीपति, अर्धसर्वहारा, सर्वहारालाई क्रान्तिका मित्रका रूपमा लिनुभयो । निम्नपँुजीपति र अर्धसर्वहारा भनेका मूलतः श्रमजीवी किसानहरू नै हुन् । उहाँले मजदुर र किसानलाई आधारभूत वर्गका रूपमा लिएर अर्धसर्वहारा, निम्नपुँजीपति र राष्ट्रिय पुँजीपतिलाई साथमा लिएर जाने नीति बनाउनुभयो । यसअनुरूप नै पहिलो कुरा उहाँले पुँजीवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद ल्याउन गाउँले सहरलाई घेर्ने रणनीतिमा आधारित दीर्घकालीन युद्ध र नयाँ जनवादी क्रान्ति गर्ने कार्यदिशा तय गर्नुभएको थियो ।
दोस्रो, माओले दलाल तथा नोकरशाही पँुजी कब्जा गरेर राष्टिय पुँजीकोविकास गरी समाजवादमा पुग्ने नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउनुभयो । त्यसका लागि उहाँले सहकारी आन्दोलन चलाउनुभयो । यसका साथै टिमबद्ध र सामूहिक उत्पादनतिर जाने नीति लागू गर्नुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुभयो जसको परिणाममा आजको चीन बनेको हो ।
तेस्रो कुरा, उहाँले छरिएको कृषि उत्पादनलाई समाजीकरण गर्दै समाजवाद ल्याउने दिशातिर चीनलाई अघि बढाउनुभयो । कृषि उत्पादन र ठूला उद्योगको दुई खुट्टामा समाजवादी अर्थ व्यवस्थाको विकास गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘कृषिको समाजीकरणबिना समाजवादलाई पूर्ण र सुुदृढ गर्नै सकिँदैन ।’
– जनताको जनवादी अधिनायकत्वबारे ।
चौथो कुरा, माओले ल्यू साओ ची र तेङ स्याओ पिङको निरपेक्ष रूपले ‘उत्पादन बढाऊ’, ‘बिरालो सेतो होस् वा कालो, उसको काम मुसा मार्ने हो’ भन्ने सिद्धान्तविरुद्ध ‘क्रान्तिलाई पकड र उत्पादन बढाऊ’ को विकास गर्नुभयो । नेपालमा ल्यु र तेङका पक्षधर प्रचण्ड र बाबुराम हुन् जसले राजनीतिक क्रान्ति होइन, आर्थिक क्रान्ति गर्नुपर्छ भनेर खोक्रो हल्ला मच्चाइरहेका छन् । ‘उन्नत सामाजिक व्यवस्था र पिछडिएको अर्थतन्त्र’ को अन्तरविरोधका नाममा ती चिनियाँ कम्युनिस्ट पार्टीभित्र रहेका संशोधनवादीहरू पुँजीवादको पुनस्र्थापना गर्न चाहन्थे । माक्र्सवादी राजनीतिक अर्थशास्त्रमा कहिल्यै पनि आर्थिक उत्पादन पृथक् हुन सक्दैन । त्यसकारण माओले ‘राजनीतिलाई शीर्षमा राख’ भन्ने नारा संश्लेषण गर्नुभयो ।
पाँचौँ, माओसहकारी, सामूहिक उत्पादन हुँदै साम्यवादी अर्थव्यवस्था कम्युनको स्थापना गर्न सफल हुनुभयो । कम्युन उत्पादनप्रणालीले साम्यवादको जग हाल्दै थियो जहाँ मानव श्रम माल बन्न छोड्दै थियो । श्रमले मुक्ति प्राप्त गर्दै मानवजातिको कर्तव्य बन्दै थियो । त्यसमा वर्गविहीन, राज्यविहीन र शोषणरहित समाजको बिरुवा हुर्कंदै थियो । संसारका र चीनका शोषकहरू त्यो बिरुवा निमोठ्न टुप्पीदेखि पैतलासम्मको बल लगाइरहेका थिए । माओको मृत्यु भयो र संशोधनवादीहरू सत्तामा आए । त्यो बिरुवा निमोठियो । त्यसलाई हामीले फेरि रोपेका छौँ । त्यसको फेरि हामीले उत्पादनका साधनहरूमा विज्ञान र प्रविधि जोडेर वैज्ञानिक समाजवादका रूपमा स्थापना गर्नुपर्छ । क्रान्तिकारी वर्गको हातमा त्यसलाई हस्तान्तरण गर्नुपर्छ ।
छैटौँ कुरा, उहाँ १९५१ देखि नै व्यवस्थापनमा भ्रष्टाचार, बर्बादी र नोकरशाहीजस्ता तीन खराबी र प्रशासनमा घुसखोरी, करछली, राज्यसम्पत्तिको चोरी, सरकारी ठेक्कामा ठगी, व्यक्तिगत प्रयोजनका लागि आर्थिक सूचना चोरीजस्ता पाँच खराबीका विरुद्ध लड्नुभयो र यसलाई सांस्कृतिक क्रान्तिसम्म पु¥याउनुभयो ।
३) वैज्ञानिक समाजवाद
सर्वप्रथमतः चीनको छिमेकी देश रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको अवस्थामा त्यहाँक्रान्तिका लागि अनुकूल परिस्थिति बनेको थियो । तर रुस आधा युरोपमा पर्दथ्यो । जहाँ उद्योग तथा कलकारखानाको विकास भएको थियो भने अर्कोतिर विशाल पूर्वी भाग एशियामा पर्दथ्यो जहाँ सामन्ती कृषिप्रणाली थियो । त्यहाँ मजदुर वर्ग मुख्य चालक शक्ति थियो । रुस आफँै सामन्ती–साम्राज्यवादी देश थियो । तर चीन जनसङ्ख्यामा विशाल, गाउँ नै गाउँ भएको कृषिप्रधान र अर्धऔपनिवेशिक तथा अर्धसामन्ती देश थियो । माओले लेनिन र युरेसिया पढ्नुभयो । माओ र चीनजस्तै कृषिप्रधान तथा पिछडिएको पूर्वी देशका नेताहरूले लेनिनलाई सोध्नुभयो– हाम्रोजस्तो देशमा क्रान्ति कसरी गर्ने ?
लेनिनले जबाफ दिनुभएको थियो, ‘यहाँ तपाईंहरूसामु यस्तो कार्यभार उपस्थित छ जुन सारा विश्वका कम्युनिस्टहरूको अगाडि पहिले कहिल्यै उपस्थित भएको थिएन । साम्यवादका आमसिद्धान्त तथा व्यवहारलाई यस्तो अवस्थाको अनुकूल ढाल्नमा सक्षम हुनुपर्नेछ जहाँ किसान जनसमुदाय जनसाधारणको मुख्य भाग हुन्छ, जहाँ पुँजीका विरुद्ध होइन, अपितु मध्ययुगीन अवशेषहरूका विरुद्ध सङ्घर्षको कार्यभार सम्पन्न गर्नु आवश्यक हुन्छ । यो कठिन र विलक्षण कार्यभार हो परन्तु विशेष रूपले आभारयोग्य छ किनभने सङ्घर्षमा ती जनसाधारण तानिएर आइरहेका छन् जसले अहिलेसम्म सङ्घर्षमा भाग लिएका थिएनन् …।’
अझ अघि बढेर लेनिन भन्नुहुन्छ, ‘त्यो कार्यभार यस्तो छ जसको समाधान तपाईंलाई एउटा पनि साम्यवादी पुस्तकमा मिल्नेछैन परन्तु त्यसको समाधान तपाईंलाईत्यो समान सङ्घर्षमा मिल्नेछ जसको सुरुआत रुसले गरेको थियो । तपाईंले यो कार्यभार पूरा गर्नुपर्नेछ र त्यसलाई अनुभवले हल गर्नुपर्नेछ ।’
– पूर्वीराष्ट्रका कम्युनिस्ट सङ्गठनहरूको महाधिवेशनमा भाषण, १९१९ ।
त्यो कठिन र विलक्षण तर आभारयोग्य कार्यभार आफ्नै अनुभवले समाधान गर्न माओले चीनमा १९२४ देखि क्रान्ति सुरु गर्नुभयो । माओले गाउँको काम मुख्य तथा मजदुर र किसानलाई प्रमुख चालक बनाउँदै गाउँले सहर घेर्ने नीति बनाउनुभयो तर छन तु स्यु, लि लि सान र वाङमिङले सहरको काम प्रमुख र मजदुर मात्र प्रमुख चालक शक्ति भएको बताउँदै रुसको नक्कल गर्ने दुस्साहस गरे । अन्ततः माओ चिङकाङसान पहाड चढ्नुभयो र सेना सङ्गठित गरेर अघि बढ्नुभयो । अर्कोतिर कोमिन्ताङलाई जापानका विरुद्ध लड्न संयुक्त मोर्चा बनाउने प्रस्ताव राख्दै जापानविरोधी प्रतिरोध अभियान अघि बढाउन आह्वान गर्नुभयो । छन तु स्यु त पार्टीबाट भाग्यो तर सुरुमा लि लि सान र पछि वाङ्मिङ दार्शनिक रूपमा जडसूत्रवादी र राजनीतिक रूपमा उग्रपन्थी प्रवृत्तिकासाथ नेतृत्वमा आए । उनीहरूले सहरिया विद्रोहको योजना बनाए र माओको गाउँले सहर घेर्ने कार्यदिशा मानेनन् । जब उनीहरूसहरमा केन्द्रित भएएउटा उत्साहका साथ अघि बढिरहेको र माओले निर्माण गरेको तीन लाख जनमुक्ति सेना १९३१ देखि ३३ सम्मको लडाइँमा क्षतविक्षत भयो । माओले १९३४ देखि १९३५ को चुनई बैठकसम्म लम्बे अभियान चलाउनुभयो । २० करोड जनसङ्ख्या छिचोलेर आउँदा फेरि जनमुक्ति सेना उत्तिकै शक्तिशाली भयो । चुनई बैठकमा माओको कार्यदिशा विजयी र वाङ्मिङको कार्यदिशा पराजयी भयो । १९३६–१९४० सम्म माओले निकै राम्रो अध्ययन तथा अनुसन्धान गर्नुभयो । व्यवहारबाट सिद्धान्त संश्लेषण गर्नुभयो ।
दोस्रो, माओले सैन्य कार्यदिशा र राजनीतिक कार्यदिशा संश्लेषण गर्नुभयो । १९३८ मा ‘दीर्घकालीन युद्ध’, ‘युद्ध र रणनीतिका समस्याहरू’ लेखेर सर्वहारा वर्गको सैन्य कार्यदिशा स्पष्ट पार्नुभयो । सुरुमा दुस्मन बलियो हुन्छ र हामी कमजोर हुन्छौँ । त्यसकारण हाम्रो नीति रणनीतिक रक्षा हुन्छ । जब दुस्मन र हामी बराबरी अवस्थामा पुग्छौँ तब हाम्रो नीति रणनीतिक सन्तुलन हुन्छ । जब दुस्मन कमजोर हुन्छ र हामी बलियो हुन्छौँ तब हाम्रो कार्यनीति रणनीतिक आक्रमण हुन्छ । यसरी दीर्घकालीन युद्ध विजयी भएर नयाँ जनवादी क्रान्ति पूरा हुन्छ । १९४० मा माओले बल्ल नयाँ जनवादी राजनीतिक कार्यदिशा स्पष्ट पार्नुभयो । यो पनि आधारइलाका र स्थानीय सत्ता अभ्यासबाट संश्लेषण गरिएको थियो । अर्धऔपनिवेशिक र अर्धसामन्ती देशमा पुँजीवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादमा पुग्ने पुलका रूपमा नयाँ जनवादको विकास गरियो । यो माओको कार्यदिशामा क्रान्तिकारी योगदान हो ।
तेस्रो, माओले कम्युनिस्ट पार्टीलाई श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता बनाइरहने विधिको विकास गर्नुभयो । विवादका विषयलाई विचारधारात्मक रूपमा उठाएर झिनामसिना कचिङ्गलमा फस्न नदिनु, बृहत् जनवादको अभ्यासमा आक्रोश, आवेग र असन्तुष्टि व्यक्त हुन दिएर केन्द्रीयतामा बदल्नु, सयौँ फूलहरू फुल्ने र हजारौँ विचारशाखाहरूलाई खेल्ने स्वतन्त्रता दिँदै बासनादार फूलहरूको रक्षा गर्नु र विषालु झारपात गोडेर जैविक मल बनाउने, आफ्नो टाउकोमाथि आफैँ आगो लगाउने, तथ्यहरूबाट सत्य पत्ता लगाउने र जनताबाट लिएर उनीहरूलाई दिनेलगायत विधिले कम्युनिस्ट पार्टीलाई समृद्ध बनाएको छ ।
चौथो, उहाँले वैज्ञानिक समाजवाद ल्याउने मात्र होइन, बरु त्यसलाई टिकाएर साम्यवादमा पुग्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बाटोमा अघि बढाउनुभयो । तर यो कार्यभार अधुरो छ । १९७६ मा उहाँको मृत्युपछि अघि बढ्न पाएको छैन । महासचिव क. विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले यसलाई एकीकृत जनक्रान्तिमा एकीकृत गरी समीक्षामा प्रवेश गर्दै आठौँ महाधिवेशनबाट आफ्नो मार्गदर्शक र जीवनदर्शन बनाएर जाने निर्णय गरेको छ । १२६औँ माओ दिवसका सन्दर्भमा हामी महान् मालेमावादको विकास गर्ने र लालझन्डा बोकेर लालझन्डाकै बदनाम गर्ने गद्दारहरूको जरा उखेल्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।
९ पुस, २०७५

प्रतिकृया दिनुहोस

क्रान्तिको प्रश्न