२६ कार्तिक २०७६, मंगलवार

क्रान्तिको प्रश्न

 

विप्लव

क्रान्ति भनेको आमूल परिवर्तन हो । पुरानोको निषेध र नयाँको स्थापना हो । राजनीतिक क्रान्ति भनेको पुरानो राजनीतिक सत्ता र व्यवस्थालाई गरिने आमूल परिवर्तन हो । पुरानो सत्ताको ठाउँमा नयाँ सत्ताको निर्माण हो । नयाँ जनवादी वा वैज्ञानिक समाजवादी क्रान्ति भनेको सामन्तवाद–पुँजीवादलाई गरिने आमूल परिवर्तन हो । पुँजीवादी सत्ताको स्थानमा वैज्ञानिक समाजवादी सत्ताको निर्माण हो । पुँजीवादी सत्ता पुँजीपतिवर्ग र शक्तिको रक्षार्थ एक साधनका रूपमा अस्तित्वमा आएको हो र अहिले पनि त्यही विशेषतामा रहिआएको छ । यसलाई मिल्काउने हो भने मुखले विरोध गरेर वा असन्तुष्टि जाहेर गरेर मात्र सम्भव छैन । यसका विरुद्ध क्रान्ति त्यो पनि सशस्त्र क्रान्ति आवश्यक पर्छ । यसबारेमा स्पष्ट गर्दै माक्र्सले भन्नुभयो, ‘कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्छन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्– सम्पूर्ण वर्तमान सामाजिक अवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्रै उनीहरूको उद्देश्य पूर्ति हुन सक्छ ।’
(माक्र्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, कम्युनिस्ट घोषणापत्र, पृ. ७१)
त्यसैगरी लेनिनले क्रान्तिको अनिवार्यतामाथि जोड दिँदै भन्नुभयो, ‘क्रान्ति भनेको त्यस्तो परिवर्तन हो जसले पुरानोलाई आधारभूत रूपमा जरैदेखि उखेलेर फालिदिन्छ र सावधानीसाथ बिस्तारै अलिअलि गरेर सकेसिम्म कम क्षति होस् भन्ने दृष्टिकोणले पुनर्निर्माण गरिरहँदैन ।’
(लेनिन, सङ्कलित रचना, भाग ८, सुनको महŒव, पृ. ६४, नेपाली संस्करण) ।
त्यस्तै माओले ‘भन्नुभयो, वर्गसमाजमा क्रान्तिहरू र क्रान्तिकारी युद्धहरू हुनु अनिवार्य छ साथै उनको अनुपस्थितिमा सामाजिक विकासका क्षेत्रमा छलाङ लगाउन असम्भव छ । प्रतिक्रियावादी शासकवर्गलाई उखेलेर फाल्न असम्भव छ साथै जनताद्वारा राजनीतिक सत्तामाथि अधिकार गर्न असम्भव छ ।’
(अन्तर्विरोधका बारेमा, माओका उद्धरणहरू, पृ. ५६) ।
यी विचारलाई कम्युनिस्ट आन्दोलनमा सार्वभौमिक महŒवका विचार भनिन्छ र विश्वभरिका क्रान्तिकारीहरूले यो विचारलाई पथप्रदर्शक विचार मान्छन् ।
क्रान्तिका सन्दर्भमा जनयुद्धको समयमा माओवादी र त्यसका नेता प्रचण्ड–बाबुराममा गहन आस्था रहेको थियो । उनीहरूले क्रान्तिभन्दा तलतिरका तर्कलाई स्वीकारेका नै थिएनन् । क्रान्तिको सन्दर्भमा प्रचण्डले भनेका थिए, ‘आजको युग साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग हो । यो युग र आजको क्रान्तिकारी विचारधारा भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद हो । माक्र्सवाद–लेनिनवाद–माओवादले सबै प्रकारका सुधारवादी सम्झौतावादी र संशोधनवादी विचलन प्रवृत्तिका विरुद्ध क्रान्तिको निर्णायक विचारधारात्मक हतियारको भूमिका खेलिरहनेछ । नेपालका क्रान्तिकारीहरूले जति गम्भीरताका साथ यो क्रान्तिकारी विचारधारालाई आत्मसात गर्नेछन्, सुधारवादका विरुद्ध गर्नेछन्, त्यति नै तीव्रताका साथ प्रतिक्रियावादीवर्ग र उनीहरूको सत्ता कमजोर हुँदै जानेछ र नेपाली जनयुद्ध एकपछि अर्को विजय हासिल गर्दै अगाडि बढ्नेछ ।’
प्रचण्ड, नेपाली क्रान्तिका समस्याहरू, भाग २, जनयुद्धको विकास, सम्भावना र समस्या, पृ. १७६ ।
उनले २०६३ सालमा लेखेका थिए, ‘नेपालका आगामी दिनहरू क्रान्ति र प्रतिक्रान्तिका तागतहरूका बीचमा भीषण टक्करका दिनहरू हुनेछन् । अन्ततः क्रान्तिको विजयले मात्र नेपाली जनताको क्रान्ति र प्रगति सुनिश्चित गर्नेछ । क्रान्तिको यो कठिन, जटिल र महान् प्रक्रियामा नेपाली सर्वहारावर्गका विचार, रणनीति र कार्यनीतिको विजयले विश्वभरिकै सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको विजयका रूपमा सम्मानित हुने गौरव प्राप्त छ ।’
नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू, ग्रन्थ १, पृ. ६१४ ।
त्यसैगरी बाबुरामले लेखेका छन्, ‘सामान्यतया उत्पादक शक्तिको विकास छिटो गतिमा र उत्पादन सम्बन्धको विकास मन्द गतिमा हुने हुनाले समाज विकासको कुनै खास चरणमा उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकासका निम्ति बाधक बन्दछ र समाजमा गत्यावरोध र विकृतिहरू पैदा हुन्छन् । त्यो अवस्थामा पुरानो उत्पादन सम्बन्धलाई भत्काएर नयाँ उत्पादन सम्बन्ध कायम गर्नु अनिवार्य हुन्छ । त्यसरी मात्र विद्यमान गत्यावरोध र विकृतिलाई हटाएर नयाँ उत्पादक शक्तिहरूको विकास गर्ने र समाजलाई अग्रगति दिन सम्भव हुन्छ । त्यही प्रक्रिया र घडीमा सामाजिक क्रान्ति हुन्छ ।’
बाबुराम भट्टराई, राजनीतिक अर्थशास्त्रको आँखीझ्याल, पृ. २५) ।
प्रचण्ड–बाबुरामले क्रान्तिभन्दा बाहिरका तर्क गर्नेलाई कम्युनिस्ट नै मान्दैनथे । उनीहरू भन्थे— जसले क्रान्ति स्वीकार्दैन, त्यो कम्युनिस्ट नै हुन सक्दैन । क्रान्तिकारी कम्युनिस्टको आधारभूत विशेषता नै सशस्त्र क्रान्तिलाई स्वीकार गर्नु हो । प्रचण्ड–बाबुरामको दृष्टिकोणअनुसार क्रान्तिको सट्टा संसद्बाट समाजवाद भन्ने वा शान्तिपूर्ण तरिकाले समाजवाद भन्नेहरू घोर दक्षिणपन्थी र संशोधनवादी गद्दार हुन् । जसले संसदीय व्यवस्थाको उपयोगको मात्र कुरा गर्दछन्, ती सुधारवादी, संशोधनवादी, दक्षिणपन्थी तŒवहरू हुन् । ती गैरक्रान्तिकारी र अवसरवादी हुन् । यसबारे प्रचण्डले स्पष्ट उल्लेख गर्दै भनेका छन्, ‘इतिहासको सामान्य अनुभवबाट मात्र पनि के निष्कर्षमा शङ्का रहन्न भने माक्र्सवाद र क्रान्तिको विकास जहाँ र जहिले पनि मजदुर आन्दोलनमा पुँजीवादी प्रभाव फैलाउने अवसरवादका विरुद्ध निर्मम सङ्घर्षका बीचबाट नै हुँदै आएको छ ।’
प्रचण्ड, नेपाली क्रान्तिका समस्याहरू, भाग २, एमाले गुट र संशोधनवादी फोहोरको डङ्गुर जलाउने प्रश्न, पृ. ९९) ।
यही दृष्टिकोणका आधारमा संसद्लाई प्रयोग गर्दै जनवाद र समाजवादतिर जान सकिन्छ भन्ने एमालेलाई प्रचण्ड–बाबुरामले गद्दार, अवसरवादी र संशोधनवादी पार्टीका रूपमा व्याख्या गरे । उनीहरूले एमालेलाई किटेरै ‘प्रतिक्रियावादमा पतन भएको संशोधनवादी पार्टी’ भने । उनीहरूले मसाललाई नवसंशोधनवादी र प्रतिक्रियावादी उन्मुखसम्म भने ।
क्रान्ति गर्नु हुँदैन र क्रान्ति सम्भव छैन भन्नेहरूलाई प्रचण्डहरूले कति कठोर शब्दहरू प्रयोग गरेका थिए भन्ने किताबका पानाहरूमा ताजै छन् । जनयुद्धपूर्व एमालेबारे प्रचण्डले लेखेका थिए, ‘अहिले यसको नेतृत्व देशीय सामन्तवादका प्रतिनिधि खासगरी राजा र काङ्ग्रेसको वरिपरि ¥याल काढेर घुम्ने एमालेले गर्ने काम गरिरहेको छ । संसद्बाट नै जनवाद खडा गर्ने हल्ला गरेर आज यो गुटले निम्न पुँजीपतिवर्गको एउटा ठूलो हिस्सालाई भ्रम दिइरहेको छ ।’
नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू, ग्रन्थ १, पृ. १९७ ।
त्यसैगरी जनयुद्धका क्रममा उनले लेखेका थिए, ‘संशोधनवाद अन्ततः देश र जनताका विरुद्ध फासिवादकै अङ्ग हुने तथ्य नेपालमा पुनः प्रमाणित भएको छ । अहिले साम्राज्यवाद र विस्तारवादको इसारामा गिरिजा सरकारले चलाइरहेको फासिवादी र राष्ट्रघाती अभ्यासमा एमाले गुटको प्रत्यक्ष र निर्णायक सरसहयोग यसका ज्वलन्त उदाहरणहरू हुन् ।’
पूर्ववत्, पृ. ४०८ ।
त्यसैगरी मोहनविक्रमलाई भनेका थिए, ‘अनुभवले कुन कुरा अकाट्य रूपले सिद्ध गरेको छ भने मोहनविक्रम प्रवृत्ति भनेको माक्र्सवाद र क्रान्तिका नाममा माक्र्सवाद र क्रान्तिको गला रेट्ने कम्युनिस्ट आन्दोलनमा घुसेको सामन्ती प्रवृत्ति हो । जतिबेला प्रतिक्रियावादी वर्गका जुनजुन गुट राज्यसत्ताको बागडोर समालेर देश र जनताका विरुद्ध राष्ट्रघात र फासिवादी शासन चलाउँछ, त्योप्रति नरम बन्नु र त्यसको रक्षा गर्नु जसले त्यसका विरुद्ध क्रान्तिकारी सङ्घर्ष गर्दछ, त्यसका विरुद्ध पूरै शक्तिका साथ आक्रमण गर्नु मोहनविक्रम प्रवृत्तिको विशेषता हो ।’
(पूर्ववत्, पृ. ५०२) ।
घोर विडम्बना ! तिनै प्रचण्ड–बाबुराम आज क्रान्तिसम्बन्धी दृष्टिकोणबाट जनयुद्धकालको भन्दा ठीक उल्टोतिर फर्किन पुगेका छन् । माथि पनि चर्चा गरियो उनीहरू त ‘क्रान्ति सकियो’ पो भन्दै हिँडेका छन् । प्रचण्डले त एक चुत्थो दलाल पुँजीवादीले भन्ने शैलीमा‘नेपालमा नयाँ युग सुरु भएको, अब कसैले पनि शान्ति र समृद्धिलाई धक्का दिन नसक्ने‘ भन्दै हिँडेका छन् । एकपटक चुनावको समयमा त उनले यतिसम्म भने, ‘अब कसका विरुद्ध लड्ने, लड्ने दुस्मन नै छैनन्, सबै मिलेर देश बनाउने हो ।’ उनले त माक्र्स–लेनिनले क्रान्तिबारे भन्नुभएका विचारभन्दा विपरीत मात्र होइन, उनीहरू स्वयम्ले जनयुद्धकालमा भनेको विचारभन्दा पनि उल्टो गएर क्रान्तिविरोधी तर्कहरू गरिरहेका छन् । एउटा राजनीतिशास्त्रीले पनि मान्ने कुरा के हो भने पुँजीवाद रहँदासम्म क्रान्ति सकिने विषय होइन, क्रान्ति अनिवार्य परिघटनाका रूपमा अगाडि आउने प्रक्रिया हो । मालेमावादी दृष्टिमा त पुँजीवाद नै क्रान्तिको अनियन्त्रित स्रोत हो । जहिलेसम्म यो धर्तीमा पुँजीवाद रहनेछ, तबसम्म क्रान्ति अनिवार्य हुनेछ । के नेपालमा दलाल पुँजीवाद सकियो त ? के नयाँ जनवाद वा वैज्ञानिक समाजवाद आयो त ? यो त राजनीतिको कखरा जान्नेले पनि भन्न सक्छ– नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था नै छ । सामन्तवादको मूल आधार भत्किए पनि दलाल पुँजीवाद सत्ताको मालिक बन्न पुगेको छ । नेपाली सत्तामा दलाल पुँजीवाद हुनुको कारणले पनि क्रान्ति अनिवार्य छ । त्यो वैज्ञानिक समाजवादी क्रान्ति हुनेछ । यति तथ्य जगजाहेर हुँदाहुँदै पनि क्रान्ति सकियो भन्नु भनेको प्रचण्ड–बाबुरामको दिमागबाट मालेमावाद र क्रान्ति (जनयुद्ध) को सिद्धान्त समाप्त हुनु हो ।
यहाँ एउटा अनौठो पक्ष के छ भने प्रचण्डहरूले जनयुद्धकालमा काङ्ग्रेस–एमालेले माओवादी पार्टी र नेताहरूलाई क्रान्तिको चर्चा गर्दा जसरी विरोध र आक्रमण गर्दथे, आज नेपाल कम्युनिस्ट पार्टी र हामीविरुद्ध त्यसैगरी विरोध र हमला गरिरहेका छन् । केही समयदेखि उनीहरूले क्रान्तिकारी कारबाहीहरूलाई ‘अतिवादी क्रियाकलाप’ र क्रान्तिको विषयलाई ‘अराजनीतिक गतिविधि’ भन्ने गरेका छन् । दलाल पुँजीवादविरुद्ध क्रान्तिको विचार राख्नु, दलाल, भ्रष्ट, तस्कर, सुदखोर, कमिसनखोर, ठगहरूलाई कारबाही गर्नेलाई ‘अतिवाद’ देख्ने दृष्टिकोण के दृष्टिकोण हो ? कम्युनिस्ट दृष्टिकोण हो कि दलाल पुँजीवादी दृष्टिकोण हो ? पुँजीवादलाई फाल्ने र देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने विचार र सोचाइलाई ‘अराजनीतिक’ क्रियाकलाप देख्ने आँखा कम्युनिस्ट आँखा हुन् कि दलालका आँखा हुन् ? प्रस्ट छ– जनयुद्धकालमा प्रचण्ड–बाबुरामकै शब्दलाई सापटी लिने हो भने क्रान्तिलाई अतिवाद देख्ने दृष्टिकोण भनेको ‘प्रतिक्रियावादी’ पुँजीवादी दृष्टिकोण हो । त्यसैगरी क्रान्तिलाई अराजनीतिक गतिविधि देख्ने आँखा कम्युनिस्ट आँखाको त कुरै छोडौँ, राजनीतिक आँखा पनि होइन; यो त ‘लुटेरा–भ्रष्ट’ दलाल पुँजीवादीहरूको आँखा हो । प्रचण्ड–बाबुराम त्यहीँ पुग्नु भनेको माओवादी कम्युनिस्ट आन्दोलनको त बेइज्जती हुँदै हो, कम्युनिस्ट र राजनीतिक आन्दोलनका लागि पनि बेइज्जतीको कुरा हो ! प्रचण्डले क्रान्तिको समयमा एमाले–मसाललाई गरेको विश्लेषणबाट हेर्ने हो भने प्रचण्ड ‘प्रतिक्रियावादी’, ‘प्रतिक्रियावादी उन्मुख’ र ‘विदेशी साम्राज्यवादीले क्रान्तिका विरुद्धमा प्रयोग गरेका तŒवहरू’ नहुनुपर्ने आधार के छ ? उनीहरूलाई ‘क्रान्तिका दुस्मन’ नमान्नुपर्ने कारण के छ र ! यसो भनेर उनीहरू ‘दुस्मन’ भइसके भन्न खोजेको नभई प्रचण्डहरूको ‘छेपारे प्रवृत्ति’ उदङ्ग्याउन खोजेको मात्र हो ।

प्रतिकृया दिनुहोस