५ आश्विन २०७६, आईतवार

बुबाको स्मृतिमा बालबालिकालाई स्विटर र झोला वितरण

विनोद सुवेदी
सिर्जनानगर रामेछाप
युरोपबाट नेपाल आएकी पत्रकार एवम् सामाजिक अभियन्ता मधु कार्कीले आफ्ना बुबा महेन्द्रविक्रम कार्कीको स्मृतिमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १ सानीमदौ सिर्जनानगरमा एक सयजना बालबालिकालाई न्यानो स्विटर र झोला वितरण गर्नुभएको छ । बुबाको निधनको प्रथम वार्षिकीमा पाँच वर्षीय छोरा मार्क कार्की ल्यापिससहित नेपाल आउनुभएकी कार्कीले जाडोमा कठ्याङ्गिँदै हातमा पुस्तक च्यापेर विद्यालय जाने विपन्न वर्गका बालबालिकाको पीडा कम गर्न सहयोगस्वरुप उक्त सामान वितरण गर्नुभएको हो । कार्कीले आफू, छोरा मार्क कार्की ल्यापिस र पूर्वशिक्षामन्त्री दीनानाथ शर्माको हातबाट बालबालिकालाई स्विटर र झोला वितरण गर्नुभएको हो । स्विटर लगाएर पिठ्युँमा झोला बोकेका बालबालिकाको मुहारमा देखिएको खुसीले उहाँलाई पनि खुसी बनाएको देख्न सकिन्थ्यो ।
मन्थली, कुनौरी, सानीमदौ सिर्जनानगर, ठूलीमदौ, कठजोर, ऐरम्बासलगायत क्षेत्रबाट सहभागी एक सय बालबालिकालाई उक्त सामग्री वितरण गर्दै कार्की र शर्माले यो कार्यले बालबालिकालाई अध्ययनका लागि प्रेरित गर्ने बताउनुभएको थियो ।
स्विटर तथा झोला वितरण कार्यक्रम सिर्जनानगरस्थित हित–जून युद्ध–कला सङ्ग्रहालयको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्कीले रसियाका स्थापित नेपाली व्यवसायी एनआरएन रसियाका पूर्वअध्यक्ष तथा राष्ट्रप्रेमी, समाजसेवी दीनानाथ राजभण्डारी, कतारका नेपाली व्यवसायी हेमलाल बीकेप्रति आभार र धन्यवाद दिनुएको छ ।

सङ्ग्रहालय अवलोकन
यसअघि हित–जून युद्ध–कला सङ्ग्रहालय अवलोकनपछि पूर्वशिक्षामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले प्रतिष्ठानको प्राङ्गणमा युद्ध–कला सङ्ग्रहालय स्थापना गरेर प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीले इतिहासको रक्षा गर्नुका साथै राज्यलाई ठूलो पाठ सिकाएको बताउनुभयो ।

तीन लाल सालिक अवलोकन

 

यसअघि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा जिल्लाको रामेछाप नगरपालिका ८ भँगेरीस्थित पुष्पलाल–गङ्गालाल जन्मथलोमा ६ वर्षअघि प्रतिष्ठानले निर्माण गरेको पुष्पलाल–गङ्गालालको सालिक अवलोकन गरिएको थियो । पूर्वमन्त्री शर्मा, अभियन्ता कार्की, प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदी, प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा, गुल्मीका अतिथि टीकाराम ढकाल, पर्वतका केशव शर्मा, रसुवाका बुद्धिमान तामाङ, दोलखाका जयराम, रामेछाप १ का पूर्वसभासद् तारानारायण श्रेष्ठ विगुल, रामेछापका एक दर्जन पत्रकार र करिब एक सयजना भँगेरीबासीले उक्त सालिकको अवलोकन गरेका थिए ।

भँगेरीको सालिक अवलोकनपछि रामेछाप भ्रमणमा आएको शर्मा, कार्कीलगायतको टोलीले मन्थली आकासेस्थित पुष्पलाल–गङ्गालाल–कृष्णलाल (तीन लाल) को सालिक अवलोकन गरी सामूहिक तस्बिर खिचाएको थियो ।
भँगेरी र आकासेको सालिक अवलोकनपछि प्रमुख अतिथि शर्माले इच्छाशक्ति भएमा सामाजिक रुपान्तरणका लागि कसैले रोक्न नसक्ने कामको उदाहरण रामेछाप भँगेरीमा निर्मित दुई लालको सालिकलाई दिनुभएको थियो । उक्त सालिक ६ वर्षअघि कवि हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले निर्माण गराएको थियो ।
भँगेरीको सालिक अवलोकनपछि प्रमुख अतिथि पूर्वमन्त्री दीनानाथ शर्मा, पत्रकार एवम् सामाजिक अभियन्ता मधु कार्की, प्रतिष्ठानका अध्यक्ष सुवेदी, स्थानीय सामाजिक कार्यकर्ता प्रदीपकुमार श्रेष्ठ, ज्येष्ठ नागरिक आनन्दराम श्रेष्ठ, कृष्णराम श्रेष्ठलगायतले बोलेका थिए । स्थानीय बासिन्दाले भँगेरीमा पुष्पलाल–गङ्गालाल उद्यान निर्माणका समस्याहरु राखेका थिए भने शर्माले आफूले यो समस्या सम्बन्धित निकायमा राख्ने वचन दिनुभएको थियो ।


सोही दिन मन्थली नगरपालिकाको कार्यालयमा नगरप्रमुख रमेशकुमार बस्नेत, पूर्वमन्त्री शर्मा, अभियन्ता मधु कार्कीसहितको छलफल कार्यक्रममा कार्कीले आफूले अनाथ, विपन्न बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षाका लागि फरेस्ट क्याम्प निर्माण गर्न लागेको जानकारी दिँदै त्यसका लागि सरकारी जग्गा उपलब्ध गराइदिनुहुन प्रस्ताव गर्नुभएको थियो भने शर्मा, कार्कीलगायतले सामाजिक भावनाले ओतप्रोत अभियानका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सुदर्शन साप्ताहिकबाट

प्रतिकृया दिनुहोस

घोडेजात्रा किन मनाईन्छ ?

क्रान्तिको प्रश्न